पुनर्निर्माण प्राधिकरण स्थापनाको दुई वर्ष पूरा, पुनर्निर्माणको काम भने सुस्त

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पूरा गरेको छ ।

सरकारले दुई वर्षअघि अर्थात् पुस १२ गते प्राधिकरण गठन गरे पनि त्यसले अझै प्रभावकारी काम गर्न सकेको छैन ।

राजनीतिक खिचातानीका कारण प्राधिकरणका कार्यकारी अधिकृत पटक पटक फेरिँदा पुनर्निर्माणले गति लिन नसकेको हो ।

स्थापनाको दुई वर्षमा प्राधिकरणले पुरातत्व विभागको अगुवाईमा ७९ वटा सम्पदाको मात्र पुनर्निर्माण सकाएको छ । अझै ३ सय १४ सांस्कृतिक सम्पदा निर्माणाधीन अवस्थामा छन् ।

भूकम्पले क्षतिग्रस्त शैक्षिक संस्थामध्ये ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणको दाबी छ ।

तर ७ हजार ५ सय ५३ शैक्षिक संस्था पुनर्निर्माण हुनुपर्नेमा अहिलेसम्म २ हजार ७ सय ७१ वटा मात्र निर्माण भइसकेका छन् ।

निजी आवास पुनर्निर्माणले भने गति लिन सकेको छैन । अहिलेसम्म ४० प्रतिशत मात्रै निजी आवास निर्माण सकिएको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म ७९ हजार ५ सय १४ वटा घर निर्माण भए पनि अझै १ लाख ९४ हजार १ हजार ९६ घर निर्माण बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्