चन्द र वैद्य नेतृत्वको पार्टीबीच एकीकरण हुने

काठमाडौँ । संसदीय धारमा रहेका दुई ठूला कम्युनिस्टबीच एकता प्रक्रिया अगाडि बढि रहँदा फरक धारका कम्युनिस्ट पार्टी पनि एकताका लागि अग्रसर देखिएका छन् । नेकपा माओवादी केन्द्र आन्दोलनबाट आएका नेत्रविक्रम चन्द र मोहन वैद्यको नेतृत्वमा रहेको पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढ्ने भएको हो ।
चन्द र वैद्यले दुई दिनअघि संयुक्त बैठक गरेर एकता प्रक्रिया अघि बढाउने निर्णय गर्नु भएको थियो । विगतमा दुवै नेता माओवादी आन्दोलनमा थिए ।
वैद्यले बैठकपछि जारी गरेको विज्ञप्तिमा समाजवाद र साम्यवाद चाहने कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्ने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ,‘ बैठकमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने उद्देश्यमाथि जोड दिँदै माक्र्सवाद—लेनिनवाद—माओवादको पथ प्रदर्शनमा नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादमा जान चाहने कम्युनिस्ट समूहहरुसित वार्ता÷संवादको प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ ।’
बैठकले भर्खरै सम्पन्न निर्वाचनपछि प्रतिक्रान्तिको नयाँ अध्याय सुरु गरेको विश्लेषण पनि गरेको छ । बैठकले यसको अन्त्यका लागि पहल गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न परिश्रम गर्ने पनि निर्णय गरेको छ ।
निर्वाचनबाट सङ्क्रमणकालको अन्त्य भएको विश्लेषण प्रतिक्रियावादी तथा प्रतिक्रियावादमा पतन भएका दक्षिणपन्थी संशोधनवादीले गरेको दाबी गर्दै वैद्यले यसको भण्डाफोर गर्ने बताएको छ । देशभक्त गणतान्त्रिक मोर्चा बनाएर चुनावमा सहभागी भएको वैद्य माओवादीले प्रतिनिधि सभातर्फ समानुपातिकमा करिब तेह्र हजार मत ल्याएको थियो । प्रत्यक्षमा कतै निर्वाचित नभएको वैद्यले जनतालाई जागृत गराउनका लागि मात्र आफूहरु निर्वाचनमा सहभागी भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्