दुई महिनापछि रसुवागढीमा सुख्खा बन्दरगाहको काम सुरु हुने

काठमाडौं, बैशाख ३ । दुई महिनापछि रसुवागढीमा सुख्खा बन्दरगाहको काम सुरु हुने भएको छ । यसका लागी चिनियाँ अधिकारीको टोली काठमाडौं आउँदै छ ।

उत्तरी नाकालाई लक्षित गर्दै रसुवागढीमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह एक वर्ष ढिला निर्माण हुन लागेको हो।

डिजाइन,टेण्डरदेखि निर्माण कम्पनी छनौंटसम्मको प्रकृयाका कारण एक वर्ष ढिला भएको नेपाल इन्टरमोडल यातायात विकास समितिको प्रवक्ता शान्ता बुढाथोकीले जानकारी दिईन् ।

उनका अनुसार चिनियाँ पक्षले पत्र पठाएर जुन पहिलो साताबाट कन्स्ट्रक्सन नै सुरु गर्ने जानकारी गराएको छ। निर्माण कम्पनी चीनमै छनोट भइसकेको छ ।

चिनियाँ कम्पनीका प्रतिनिधीसहित सरकारी अधिकारीहरु नेपाल आएर एक चरणको सम्झौता गरेपछि निर्माण थाल्नेछन् । निर्माण सुरु गरेको साढे दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सन् २०१४ मा बन्दरगाह निर्माण गर्न द्धिपक्षीय सम्झौंता भएको थियो। दुई देशका अधिकारीहरु बसेर गतबर्ष डिजाईन फाईनल गरेका थिए ।

डिजाईन अनुसार बन्दरगाहको संरचना करिव ८ हेक्टर क्षेत्रफलभित्र निर्माण हुनेछ । चिनियाँ परामर्शदाता कम्पनीको डिजाईन अनुसार एउटा मूख्य भवन बन्ने छ । पाँचतले सो प्रशासनिक भवनमा बैंक, भन्सार, अध्यागन लगायतका कार्यालयहरु रहनेछन्।

साढे तीन सय ठूला गाडी अटाउने पार्किङस्थल निर्माण गर्न लागिएको छ।करिव साढे सात सय वर्गमिटर क्षेत्रफलमा गोदाम निर्माण हुनेछ। मालसामन चेक जाँच गर्ने टर्मिनल, चेकपोष्ट लगायतका सबै खालका पुर्वाधार निर्माण हुनेछन् ।

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह बनाउन लागिएको हो ।
रसुवागढीमा बन्न लागेको बन्दरगाहलाई चीन सरकारले समेत उच्च प्राथमिकतामा राखेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्