सरकारले दुई जलविद्युत आयोजनाको शेयर आवेदन खुला गर्यो

काठमाण्डौ , चैत २६ । सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाको सेयरका लागि पनि आवेदन खुला गरेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलब ८ मेगावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलब ५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको पनि सर्वसाधारणका लागि शेयर भर्न आवेदन खुला गरिएको जानकारी गराएको हो ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि शेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।

उनले नागरिकले तत्काल प्रतिफल पाउने भएकाले त्यस आयोजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको पनि स्पष्ट पारे ।

१५ प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको शेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन ।

सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यस अघि त्रिशूली बी जलविद्युत आयोजनाको शेयर आह्वान गरेको थियो ।

मन्त्री पुनले नागरिकले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर नागरिकको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अर्ब २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अर्ब २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्