सरकार यातायात व्यवसायीको मागप्रति गम्भिर छैनः महासचिव सिटौला

सरकार र यातायात व्यवसायीबिच बढ्दै गएको विवादमा केन्द्रित रहि अबको निकास के हुनसक्छ, भनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) संग जागरण न्युजकर्मीले गरेको कुराकानी अंश :

सरकार र यातायात व्यवसायीबिच बिवाद बढ्नुको मुख्य कारण के हो ?

सरकार र यातायात व्यवसायीबिचमा कुनै विवाद छैन । व्यवसायी र सरकारबीच वैज्ञानिक रुपमा भाडादर वृद्धि गर्र्ने हाम्रो मान्यता हो । व्यवसायी र सरकारबिच चाडपर्व पछि भाडादर वृद्धि गर्ने सम्झौता भएको थियो । तर आज सम्म त्यो कार्यान्वयन भएको छैन । भाडावृद्धि सम्बन्धि सम्झौता कार्यान्वयन होस् भन्ने हाम्रो प्रमुख माग हो ।
भाडा समायोजनका लागि दशैंअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभई अन्य विषयमा छलफल नै हुँदैन । यसमा सरकार पनि गम्भिर होस् ।
सरकारले स्तरीय चालक उत्पादन गर्न कुनै प्रकारको पहल गरेको छैन । स्तरीय चालक नभएकाले हामी कराडौं लगानी माटोमा मिल्ने अवस्था आएको छ । यो व्यवसायबाट नै हात झिक्नु पर्ने अवस्था आएको छ । सरकारले सबै दोषहरु व्यवसायीलाई थोपर्ने काम गरेको छ । यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाएमा लाखौं युवा आज विदेशिनु पर्ने थिएन । यसलाई सिंगो यातायात व्यवसायीले थेग्न सक्ने थियो । व्यवसायमा भएको उतार चढावले गर्दा हजारौं युवाहरु विदेशिनु परेको छ । हामीकहाँ स्तरीय ड्राइभिङ्ग सेन्टर नभएकाले पनि यसको समस्या आएको छ । सरकार व्यवसायीलाई व्यवस्थित गर्ने काममा चाहि आँखा चिम्लने र व्यवसायीलाई आक्रमण गर्ने काम गरेको छ । चार वर्षदेखि हेभि गाडीहरुको लाईसन्स् वितरण अवरुद्ध छ । चालक नभएर गाडीहरु ग्यारेजमा थन्किएका छन् । हामी व्यवसायीको टट्कारो समस्यालाई सरकारले कुनै वास्ता गर्दैन । यातायात व्यवस्था विभागलाई चालक उत्पादनको लागि पटक-पटक आग्रह गर्दा झारा टार्ने काम गरेको छ । यातायात व्यवस्था विभाग दिन कटाउने काम मात्र गरेको छ । लाईसन्स् दिने काम सरकारको हो । जाँच गराउने काम पनि सरकारको हो । स्तरीय चालक उत्पादन गर्ने सरकारको दायित्व हो । त्यपछि मात्र गाडी धनीले काम दिने हो ।

यातायात व्यवसायीले सरकारलाई भाडा बढाउन दवाव दिने, तर सेवा सुविधाका कुरामा भने वेवास्ता गरेको यहाँहरुलाई आरोप छ, यस कुरालाई कसरी चिर्नुहुन्छ ?

भाडा बढाउने–घटाउने वैज्ञानिक प्रणाली हो । यस विषयमा विभागसंग पहिला नै सम्झौता भईसकेको छ । ०६९ सालदेखि भाडा वृद्धि भएको छैन । पछिल्लोपटक ०७२ को माघमा भाडा समायोजन भएको थियो । गाडीको मुल्य, भन्सार महसुल, सवारी कर, बैंकको व्याजदर, पार्टस्, लुब्रिकेन्ट लगायतको सबै बस्तुको मुल्य र दर बढेको छ । तर यतिका वर्षसम्म पनि गाडी भाडा भने वृद्धि भएको छैन । यो तमाम समस्याले गर्दा आज व्यवसाय नै धरापमा परेको छ । व्यवसायीको समस्यमा समाधानमा सरकार उदासिनता देखिएको छ । व्यवसायीलाई मात्र दोष थोपर्ने र आफूचाहि पानी माथिको ओभानो बन्ने काम गरेको छ । यातायात व्यवसायीले भाडा बढाउने विषयबाहेक अन्य विषयमा छलफल, कार्यक्रम र बैठकमा सहभागिता नजनाउने सरकारले लगाएको आरोप तथ्य हिन हो ।
सरकारले हाम्रा माग र समस्यालाई दिग्भ्रमित गर्नको लागि विभिन्न चालवाजी गर्ने, कहिले बाल श्रम र कहिले संगितमा रोयल्टि लगायतका विषयलाइ उठान गरि हाम्रा मुख्य मागलाई वेवास्ता गरेकोले यातायात व्यवस्था विभागको वैठक बहिष्कार गर्न वाध्य भएका हौं । सरकार यात्रु र व्यवसायी दुवैको अभिभावक हो । त्यसैले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्छ । विभागका केहि कर्मचारीहरुले व्यक्तिगत अविष्ट पूरा गर्नको लागि विभिन्न वहाना गरेर समस्याको समाधान गर्नै चाहदैनन् । हामीले दिनुपर्ने सबै सुविधाहरु सक्दो दिएका छौं । हाम्रा पनि केहि कमजारी होलान् । यसलाई पनि सुधार्दै लैजाने पक्षमा छौं । सरकार समस्यमा समाधान गर्नुको साटो भाग्ने रणनीतिमा गर्छ ।

यातायात क्षेत्रमा बाल श्रमिकको प्रयोग भएको छ, यसलाई तपाईहरुले किन वेवास्त गर्नु भएको हो ?

हामी बाल श्रमिकलाई उपयोग गर्ने पक्षमा छैनौं । यसको हामी पनि विरुद्धमा छौं । तर, सरकारले सडकमा अलपत्र परेका बालकहरुलाई गास, बास, शिक्षा, स्वास्थ्य तथा सुरक्षालगायत आधारभूत आवश्यकताका कुराको भरपर्दाे र दिर्घकालीन व्यवस्थापन गर्ने काम गरोस् हामी एक क्षण पनि बाल श्रमिकको प्रयोग गर्दैनौ । विदेशी संस्थाको डलर खाएर दुई/चार जना बच्चालाई उद्धार गरीएको भिडियो बनाई र सार्वजनिक गरि करोडौं कमाउने काम पनि भएको छ । यो समस्यको समाधान होइन । यसलाई सरकारले नै बुझ्नु पर्ने कुरा हो । बाल श्रमिकको कुरा गर्दा यी बच्चाहरु भोक भोकै मर्न नपरोस् भन्ने हाम्रो मान्यता हो ।

आगामी माघमा हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशनको मुखमा आएर भाडा बढाउन सरकारलाई दबाब दिनुले कतै व्यवसायीको मनजित्ने र नेतृत्वमा आउने चाल त होइन ?

यो सरासर गलत कुरो हो । म नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला हुँ । मेरो लागि नेतृत्व गौण कुरो हो । पहिला व्यवसाय सुरक्षित हुनपर्दछ । नेतृत्वमा को आउने र जाने भन्ने कुराले खास फरक पर्दैन । जसले नेतृत्व गरे पनि व्यवसायीको भलाईको लागि काम गर्ने हो । म यो क्षेत्रमा विगत ३० वर्षदेखि काम गरेको छु । १३ वर्षदेखि नेतृत्वदायी भुमिकामा छु । व्यवसायीलाई समस्या र अप्ठेरो परेको अवस्थामा मैले समाधान निकाले छु । महासंघले अध्यक्ष गुमाएको, महाभुकम्प, नाकाबन्दी, ठूला–ठूला सडक दुर्घटना लगायतका हरेक समस्या र चुनौतीलाई चिर्दै यहाँसम्म आएका छु । अबका दिनमा पनि म व्यवसायी साथीहरुको रहेक समस्या र अप्ठ्यारामासंगै रहने छु । मैले विभिन्न समिति तथा महासंघमा बसेर कति काम गरेको छु । त्यो साथीभाई तथा व्यवसायीहरुले बुझ्नु भएको छ । व्यवसायी साथीहरुको भावना र मर्म अनुसार म चल्ने हो । यसलाई कसैले रोकेर रोकिंदैन । मलाई मिडियामा आई वक्तव्य बाजी र चर्चामा आउनु छैन । मलाई व्यवसायीसाथीहरुले जुन भूमिका दिन्छन् त्यो मलाई स्विकार्य छ ।

व्यवसायीको र मानावताका नाताले तपाईहरुले राज्यको लागि के कस्तो त्याग गर्नु भएका छ ?

हामी व्यवसायीले विद्यार्थी, वृद्ध, अपांग, जनआन्दोलनका घाईते लगायतलाई सुविधा दिंदै आएका छौं । हामी यातायात व्यवसायीले मात्र कतिसम्म त्याग गर्ने ? यो सरकारको ढुुकुटीबाट किनेको गाडी होइन । हामी जनताको खल्तिबाट किनेको गाडी हो । सरकारले कुनै अनुदान र व्यवस्था नगर्ने यो कहाँसम्म न्यायसंगत छ ? हामीले एक हदसम्म छुट दिंईरहेका छौं । हामी बाँच्न सक्ने मात्र छुट दिने हो आफु नै मरेर कसरी छुट दिने ? हामी पनि निजी व्यवसायी हौं । यसरी छुट दिंदै जाने र हामी व्यवसायीको मर्का र समस्याको कुनै सुनुवाई नहुने हो भने हामीले यो पेशा नै छोडिदिए हुन्छ । सरकारले सडक र पूर्वाधारको विकासमा वेवास्ता गर्दा हामी यो चपेटामा परेका छौं ।

तपाईले महासंघको नेतृत्वमा बसेर के –के काम गर्नु भयो ?

मैले यो क्षेत्रमा विगत ३० विताएको छु । म फेरि पनि भन्छु, यो व्यवसायको क्षेत्रमा थुपै समस्याहरुलाई चिर्ने काम गरेको छु । यातायातमा विमा नीति, संस्था नविकरण, बाटो घाटा तथा पूर्वाधार निर्माण, झिटिगुण्टा, भाडा समायोजन लगायतका विषयमा वर्षदेखि काम गरेको छु । १३ वर्षदेखि नेतृत्वदायी भुमिका निर्वाह गर्दै अहिले महासचिवको कार्यकाल पुरा गर्दैछु । यसरी व्यवसायीलाई समस्या र अप्ठेरो परेको अवस्थामा मैले समाधान निकाले छु ।

अब अन्तिममा कसरी अगाडी बढ्नु हुन्छ ?

सरकारले भाडा समायोजन नगरे सम्म हामी व्यवसायीहरु पछाडि हट्ने पक्षमा छैनौं । यो हामी व्यवसायीको भन्दा समयको माग हो । यत्रो मुल्य वृद्धिको वावजुद पनि हाम्रो कुराको सुनाई नहुनु दुर्भाग्यपूर्ण छ । हामी वार्ता विरोधी हैनौं समस्याको समाधान वार्ताबाट नै निकाल्न चाहन्छौं । वास्तविकता निकास आउने किसिमको सार्थक वार्ता होस् भन्ने पक्षमा हामी छौं । यदि सरकारले हाम्रा मुख्य मागहरुलाई वेवास्ता गरि अगाडि बढेमा हामी जस्तो सुकै मुल्य चुकाउन पनि पछि पर्ने छैनौं ।

 

 

 

प्रतिक्रिया दिनुहोस्