साञ्जेन जलविद्युतद्वारा आईपीओ भर्न चाहनेलाई डिम्याट खाता खोल्न आग्रह

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले सिमित आइपिओ जारी गर्ने अन्तिम तयारी गरेको छ ।

आयोजनाले आज एक सूचना मार्फत आइपिओका लागि हितग्राही खाता (डिम्याट) जरुरी रहेको भन्दै तत्काल खाता खोल्न सबैलाई आग्रह गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार १०० मूल्य अंकित मूल्यका ३ करोड ६५ लाख कित्ता सेयर मध्ये कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीलाई ७१ लाख १७ हजार ५०० कित्ता सेयर सेयर बिक्री गर्न लागेको छ ।

यस्तै , संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई १२ लाख ७७ हजार ५०० कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई ३ लाख ६५ हजार कित्ता गरी पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता आइपिओ बिक्री गर्न लागेको जनाएको छ ।

सेयर निस्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २६ गते उक्त कम्पनीले स्वीकृति पाएको हो ।

बोर्डको नियमअनुसार आश्वा प्रणाली मार्फत सेयर आवेदन दिनका लागि हितग्राही खाता अनिवार्य रहेको भन्दै तत्काल उक्त खाता खोल्न कम्पनीले आग्रह गरेको हो ।
कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकोषमा रकम जम्मा गरेका कर्मचारीले सेयर खरिद प्रक्रियामा सहभागी हुन सक्ने सूचनामा उल्लेख छ ।

दोस्रो चरणमा स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्