आर्थिक वृद्धिदर पाँच वर्षमा १०.३ पुर्याउने लक्ष्य सहित १५ औं पञ्चवर्षी योजना पारित

काठमाडौं, २१ चैत । राष्ट्रिय विकास परिषदको बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजना पारित गरेको छ । समृद्ध नेपाल सुखि नेपालीको नारालाई आत्मसाथ गर्दै मुलुक विकासको लागि पञ्चवर्षीय आधार पत्र पारित गर्न काठमाडौंको होटल शोल्टीमा दुईदिनसम्म चलेको राष्ट्रिय विकास परिषदको बैठकले आयोगले तयार पारेको १५ औं पञ्चवर्षी योजना पारित गरेको हो ।

आयोगले तयार पारेको आर्थिक वर्ष ०७६/०७७ देखि ०८०/०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल गरेको थियो ।

बैठकले आधार पत्रमा हाल ५.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी पाँच वर्षमा बढेर १०.३ पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । २८. ६ प्रतिशत रहेको बहुआयामिक गरिबीको दरलाई पाँच वर्षमा १४ प्रतिशतमा झार्ने लक्ष्य आधार पत्रमा उल्लेख छ ।

यस्तै ११.४ प्रतिशत रहेको बेरोजगारको दरलाई वि.स. २०८१ सम्म ४ प्रतिशतमा झारिने, १ हजार ७४ मेगावाट विद्युत् उत्पादनलाई ५ हजार मेगावाट पुर्याउने जस्ता ३३ वटा सूचकहरुको लक्ष्य निर्धारण बैठकले गरेकोे छ ।

यो योजनामा आगामी पाँच वर्षलाई अर्थात आर्थिक वर्ष ०७६/०७७ देखि ८०/०८१ सम्मलाई समृद्धि र सुखको आधार वर्षका रुपमा व्याख्या गरिएको छ ।

पाँच वर्षमा समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिस्कृत जीवनसहितको समाजवाद उन्मुख लोकल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार पार्ने योजना रहेको छ । ८ महिनाअघि तयार पारिएको योजनाको मस्यौदा परिषद बैठकले पारित गरेसँगै अब मन्त्रिपरिषदमा पेश गरिएपछि औपचारिक रुपमा कार्यान्वयनको लागि अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्