बारा-पर्साका आँधी प्रभावितलाई प्रदेश ३ र सुदूरपश्चिम प्रदेश सरकारले एक / एक करोड सहयोग गर्ने
काठमाडौं, चैत १९ । प्रदेश नं ३ सरकारले बारा र पर्साका आंधीवेहरी प्रभावितहरुलाई आवास निर्माणका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।
हेटौडामा आज बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको हो ।
तत्कालका लागि एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने बताइएको छ ।
यस्तै कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १ सय ९ सदस्यबाट ३ दिनको तलव सहयोग गर्ने निर्णय समेत गरेको छ ।
यस सम्बन्धमा सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभामा जानकारी गराउने र तलबबाट सिधै काटेर सहयोग गर्ने निर्णय गरेको हो ।
यसैबिच यता सुदूरपश्चिम प्रदेश सरकारले पनि प्रदेश २ को बारा र पर्साका आँधी(हुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्