अब सहकारीमा पनि स्रोत खुलाउनुपर्ने

काठमाडौं । सरकारले सहकारी संस्थामा पनि १० लाख रूपैयाँभन्दा बढी कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा केही वर्ष अघिदेखि नै लागू भइसकेको यो व्यवस्था बचत तथा ऋण कारोबार गर्ने सहकारीमा पनि लागू गर्न लागिएको हो ।

‘सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४’ अन्र्तगत सहकारी तथा गरिवी निवारण मन्त्रालयले स्रोत खुलाउनुपर्ने व्यवस्थासहितको सम्पति शुद्धीकरणसम्बन्धी निर्देशन जारी गर्न लागेको हो । आजको कारोबारमा खबर छ ।

सहकारी विभागले बनाएको निर्देशनको मस्यौदा मन्त्रालयमा छलफलकामा रहेको र मन्त्रीस्तरबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

“सबै सरोकारवालाको सुझाव समेटेको मस्यौदा अध्ययनका लागि मन्त्रीज्यूको टेबलमा छ” मन्त्रालय स्रोतले भने, “उहाँबाट स्वीकृत भएपछि निर्देशन जारी हुन्छ ।” निर्देशनको मस्यौदाअनुसार सहकारीमा सेयर खरिद, निक्षेप जम्मा, कर्जा वा सावाको भुक्तानी र रेमिट्यान्सको १० लाख रूपैयाँभन्दा बढीको कारोबार गर्दा रकमको स्रोत खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थामा स्रोत खुलाउनुपर्ने व्यवस्था लागू भएपछि गैह्रकानुनी कालो धन लुकाउन सहकारीको प्रयोग हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्