उत्साहका साथ सकियो लगानी सम्मेलन , १५ ओटा आयोजनामा लगानी सम्झौता
काठमाडौं, चैत १७। आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ ।।
सम्मेलनमा १५ ओटा आयोजनामा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्मेलनमा चौधरी समूह र सर्राफ समूहबीच मल्टिपर्पोज सेन्टर निर्माणमा सहमति भएको छ ।
त्यसैगरी, चौधरी समूह र स्काई पावरले ६०० मेगावाट सोलार प्लान्ट निर्माणका लागि सम्झौता गरेका छन् ।
सम्मेलनमा सिजी र ट्रकसेलबीच फाइभजी मोबाइल सेवा विस्तारमा सहमति भएको छ ।
सिजी र प्रदेश नम्बर–२ सरकारबीच २०० मेगावाट सौर्य ऊर्जा उत्पादनको सम्झौता भएको छ ।
भारतको सतलज कम्पनीले निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनामा एसबीआई बैंक, एभरेस्ट बैंक र नबिल बैंकले लगानी गर्ने सम्झौता भएको छ ।
त्यसैगरी, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कोरियाली कम्पनीले ६१५ मिलियन डलर लगानी गर्ने सम्झौता भएको छ ।
यसैगरी, कालिगन्डकी गर्ज आयोजना, बारा सेज, हिमालय बुटिक रिसोर्ट बनेपा, गैरआवासीय नेपालीको पूर्वाधार कोष र वायर हाउस निर्माणका लागि निम्बससँग लगानी सम्झौता भएको छ ।
यसैगरी, म्यानमारका कन्ट्राक्टर र नेपालका निर्माण व्यवसायी महासंघ, आइबीएन इन्भेस्टमेन्ट बोर्ड साउथ अफ्रिकाबीच सहकार्य भएको छ ।
भारतको मुथुत फाइनान्स र युनाइटेड फाइनान्स र एपी पावरबीच जलविद्युत्, सौर्य र वायुऊर्जामा लगानी गर्ने सम्झौता भएको छ ।
लगानी सम्मेलनमा १७ ओटा परियोजनामा विदेशी लगानीकर्ताले चासो देखाएका छन् । उनीहरुले आवेदन नै हालेर यी परियोजनामा लगानी गर्ने इच्छा देखाएका हुन् ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १७ ओटा परियोजनामा लगानीको प्रस्ताव आएको र १५ ओटा परियोजनाका लागि सम्झौता भएको जानकारी दिए ।
सरकारले सम्मेलनका लागि ७७ ओटा परियोजना ‘सो–केस’मा राखेको थियो भने सम्मेलनमा ४० देशका ७३५ जना प्रतिनिधि र नेपालका ६०० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्