आइएफसी नेपालमा लगानी गर्न इच्छुकः गर्याे एक खर्ब बढी लगानी गर्ने घोषणा

काठमाडौं, चैत १६ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो ।

निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।

लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाइएको बताए ।

उनले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताए ।

‘निजी क्षेत्र पनि अब आधुनिक बन्नुपर्छ, प्रतिस्पर्धामा आउनुपर्छ, आफ्नो बजारलाई बन्द गर्नु भएन,’ उनले भने,’नेपालको निजी क्षेत्रले समाजिक र पर्यावरणीय मानकलाई मान्नुपर्छ, विदेशी पुँजी र विशेषज्ञतालाई पनि स्वागत गर्नुपर्छ ।’

चार वर्षमा गरिने यो लगानीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आईएफसीको आँकलन छ । आईएफसी नेपालको पुरानो विकास साझेदार हो । उसले नेपालमा लगानी गर्न थालेको ५० वर्ष भइसकेको छ ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा विदेशी दाताहरुले नेपाललाई सहयोग गर्न तत्परता देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्