सरकारले विदेशी लगानीकर्तालाई भन्यो – ‘कृषिमा लगानीको सम्भावनै सम्भावना छ, ढुक्कसँग लगानी गर्नुस्’

काठमाडौँ, चैत १६ । अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ ।

कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकीमूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकराले दातृ निकाय, उद्योगी व्यवसायी तथा विभिन्न देशका लगानीकर्तालाई लगानीका लागि कुनै कानूनी व्यवधान नरहेको भन्दै आश्वस्त पारेको छ ।

नेपाली लगानी सम्मेलन २०१९को दोस्रो दिन आज काठमाडौँमा भएको कृषि र वन उत्पादनसँग सम्बन्धित सत्रमा यस क्षेत्रका विज्ञ तथा लगानीकर्तालाई कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले नेपाल सानो देश भए पनि लगानीको प्रसस्त सम्भावना रहेकोे उल्लेख गरे ।

सरकारले लगानीको पर्याप्त सुरक्षा दिने प्रतिबद्धता जनाउँदै मन्त्री खनालले कृषि क्षेत्रमा ढुक्कले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । उनले भने, “लगानी नै लगानीको सम्भावना भएको देश नेपाल हो, कृषिमा श्रमशक्ति पनि पर्याप्त छ, परियोजना ल्याउँदा कुनै समस्या हुन्न ।” सरकारले लगानीका लागि रासायनिक मल प्लान्ट तथा चितवन, सुर्खेत र काभ्रे, कैलाली, कास्की, पर्सा, रुपन्देही र मोरङमा एकीकृत कृषिसम्बन्धिका आठ परियोजना अघि सारेको छ ।

प्रस्तुत भएका परियोजनामा लगानी गर्नसके निर्यातको प्रचुर सम्भावना रहेको भन्दै उनले आन्तरिक बजारको समेत राम्रो सम्भावनाका बारेमा लगानीकर्तालाई आश्वस्त पारे । मन्त्री खनालका अनुसार सरकारले मह, कफी र चिया मात्रै होइन, एग्रो फरेष्ट र एग्रो पर्यटनमा समेत प्रसस्त लगानीको सम्भावना अघि सारेको छ । कानून परिमार्जन गरी लगानीमैत्री नीति नियम बनाएर मन्त्रालय अघि बढेको छ ।

उनले भने, “कानूनमा धेरै सुधार भइसकेका छन्, कानूनी जटिलता समेत हल भइसके, वन र कृषिलाई कसरी सँगसँगै लैजाने भनेर मन्त्रालय अघि बढेको छ ।” नयाँ संविधान निर्माणसँगै सङ्क्रमणकालको अन्त्य भएकाले नेपाल लगानीको सम्भावनायुक्त देश र लगानीको क्षेत्र बनेको तथा चीन र भारतसँग राम्रो सहकार्य हुँदै आएकामा पछिल्लो समयमा अन्य मुलुकसँग समेत सहकार्य अघि बढेको सरकारले जनाएको छ ।

नेपालमा कृषिमा लगानी गर्नुपर्छ भन्ने सकारात्मक सोचको विकास भएको र लगानी बढ्दो क्रममा समेत रहेको छ । शीत भण्डार, बिरुवा, फलफूललगायत क्षेत्रमा ठूलो लगानी चाहिएको सरकारले लगानीकर्तामाझ सम्भावना प्रस्तुत गरेको छ ।

मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रको समग्र वस्तुस्थितिका बारेमा प्रस्तुतिकरण दिँदै हाल ६६ प्रतिशत जनसङ्ख्या कृषिमा संलग्न रहेको बताएयो ।

उनले निर्यातमुखी कृषि उत्पादनका वस्तुका बारेमा सरकार साझेदार तथा लगानीकर्तासँग निजी–सार्वजनिक साझेदारी ढाँचामा काम गर्न इच्छुक रहेको जानकारी दिए । कृषि क्षेत्रको आधुनिकीकरणका लागि पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको औँल्याउँदै उनले सरकारले कृषि क्षेत्रलाई बीमा र बैंकिङ क्षेत्रसँग जोड्न चाहेको बताए ।

कृषि क्षेत्रको परिवर्तनले मात्रै आर्थिक क्रान्ति सम्भव छ भन्दै उनले चामल बाहेक मकै, गहुँ, कोदो, फापरमा आत्मनिर्भर रहेको तर भातमात्रै खानेबानी सुधार नहुँदा मात्रै चामल आयात गर्नुपर्ने अवस्था रहेको तथ्य पेश गरे ।

बहुराष्ट्रिय कम्पनी डाबर भारत लिमिटेडका सार्क प्रमुख हर्किरतसिंह वेदीले आफ्नो संस्थाले नेपालमा काम गरेको २० वर्षको अनुभव सुनाउँदै यहाँ लगानी गर्न सकिने र प्रसस्त लगानीका क्षेत्र रहेको बताए ।

कफी क्षेत्रमा लगानी गर्दै आएको हेष्टर वायो साइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धीले नेपालको कफी गुणस्तरीय भएको र यसलाई विश्व बजारमा लैजान सकिने बताउँदै नेपालसँग सहकार्य गरेर काम गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रमको संयोजन गर्दै गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले नेपालको कृषि क्षेत्रमा लगानीको सम्भावनाका बारेमा विचार व्यक्त गरेका थिए । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी विदेशी लगानीकर्ताको उपस्थिति छ ।

सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता छ ।

सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरेको छ ।

सम्मेलनमा करीब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा आज हस्ताक्षर गर्ने तयारीे छ । सम्मेलनमा सात विषयगत सत्रमध्ये शुक्रबार सूचना प्रविधि, पर्यटन, उद्योग, ऊर्जासम्बन्धीका सत्र सम्पन्न भएका थिए भने आज भौतिक पूर्वाधार र कृषि सत्र सम्पन्न भएका छन् ।

यसबाहेक नेपालका लगानीकर्ताबीच अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय लगानीकर्ताको अनुभव आदानप्रदानका कार्यक्रम सम्पन्न हुने छन् ।

प्रतिक्रिया दिनुहोस्