प्रधानमन्त्री ओलीले भने- अब पनि बन्दुक लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन्

काठमाडौँ, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताएका छन् ।

नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने स्पष्ट गरे ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै उनले भने, ‘अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन् । कम्युनिष्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानूनबमोजिम नियन्त्रण गर्छ । यसमा पार्टी पङ्क्ति स्पष्ट भए हुन्छ ।’

त्यस्तो समूहलाई सरकारले प्रतिबन्ध लगाउन नहुने तर्क राख्ने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको जिकिर गर्दै उहाँले मुलुकबाट पृथकतावादको कुरा र हिंसात्मक राजनीतिको अभ्यास समाप्त भएको जनाए ।

पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै उनले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्