मेलम्ची खानेपानी आयोजनाः सीएमसी कम्पनीले माग्यो सरकारसँग २ अर्ब ५२ करोड बढी क्षतिपूर्ति
काठमाडौं, चैत १३ । मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएससीले सरकारसँग क्षतिपूर्ति वापत २ अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ ।
संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिवापत सरकारसँग सो कम्पनीले २ अर्ब ५२ करोड माग गरेको जानकारी गराएका हुन् ।
समितिले पाण्डेलाई सो आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो । समितिको बुधबारको बैठकमा उनले बुझाउनु भएको प्रतिवेदनमा सो आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड लाग्ने पनि सम्बन्धित निकायले जानकारी गराएको पनि उल्लेख गरिएको छ ।
प्रतिवदेनमा सिएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर सो आयोजनाको बाँकी काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।
समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकी काम सिएमसी कम्पनीबाटै गराउनुभन्दा २ अर्ब ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराए ।
समितिका सदस्य पाण्डेले सो आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सचेत गराए । प्रतिवेदनमा सिएमसी कम्पनीको २ अर्ब १० करोड रुपैयाँ सरकारले बैंकबाट जफ्त गरिसकेको पनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्