आर्थिक सहायताको नाममा सरकारले एक महिनामै बाँड्यो झन्डै सवा करोड
काठमाडौं, चैत १२ । सरकारले फागुन महिनामा मात्रै आर्थिक सहायताको नाममा १ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम बाँडेको छ।
अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत ९ जनाका लागि ४२ लाख ८० हजार स्वास्थ्य उपचार खर्चका नाममा रकमान्तर गरी रकम निकास गरेको हो।
यसैगरी, सहिद गंगालाल श्रेष्ठको जन्म शताब्दीको नाममा ५ लाख, पर्साका पानालाल प्रसाद यादवको औषधि उपचार खर्चबापत ६ लाख २० हजार रुपैयाँ आर्थिक सहायताको रुपमा सरकारले बाँडेको पाइएको छ।
यसैगरी, २०७५ माघ ३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार ४४ जनालाई औषधि उपचार, होटलमा बसेको, आतेजाते खर्च र कुरुवा खर्चसमेत गरी सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।
साथै सरकारले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका लागि १० लाख, गोरखाकी सुनिता रेग्मीलाई ४ लाख र झापाका देवीप्रसाद रेग्मीलाई ७ लाख रुपैयाँ औषधी उपचार खर्चको नाममा आर्थिक सहायता बाँडेको पाइएको छ।
यसैगरी, नेपाल दलित साहित्य एकेडेमी र नेपाल(भारत दलित मैत्री संघलाई भारतमा भएको विभिन्न कार्यक्रमका लागि भन्दै ४ लाख रुपैयाँ सरकारले आर्थिक सहायता गरेको छ।
साथै प्रधानमन्त्री कार्यालयका सचिव डिल्लीराम घिमिरेलाई औषधी उपचार खर्चका लागि भन्दै ५ लाख अर्थ मन्त्रालयले फागुन महिनामा रकमान्तर गरी निकासी गरेको छ।
यसैगरी २०७५ फागुन १३ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ९ जनाको स्वास्थ्य उपचारको लागि २७ लाख रुपैयाँ सरकारले आर्थिक सहयोग गरेको छ।















प्रतिक्रिया दिनुहोस्