गैर आवासीय नेपाली संघ : यसै वर्ष १० अर्ब लगानी भित्र्याउने प्रतिबद्धता

काठमाडौँ , चैत १२। गैर आवासीय नेपाली संघले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको छ ।

यसका लागि आसन्न लगानी सम्मेलनमा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ ।

नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ लगानी तथा बाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको पन्तले बताए ।

सम्झौतापत्र तयार भइसकेको र लगानी सम्मेलनका क्रममा एनआरएन अध्यक्ष भवन भट्ट तथा नेपाल सरकारका प्रतिनिधिले हस्ताक्षर गर्ने संघले जनाएको छ ।

गैर आवासीय नेपालीको लगानी सुनिश्चित र सुरक्षित गर्न नेपाल राष्ट्र वैंक, कम्पनी रजिष्टार कार्यालय र सुरक्षा बोर्डले सबै आवश्यक प्रबन्ध मिलाउने प्रस्तावित सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्