साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५२औं साधारणसभाले १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर बाँडेने निर्णय पारित

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । उक्त सभाले आ.व.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो ।
कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुंदै आ.व. २०७४।०७५ मा रु. ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताउनु भयो । अघिल्लो वर्ष रु. ८ अर्व ५८ करोडको कारोवार भएको थियो ।

अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराउनु भयो ।
चिनी आयातमा भएको व्यवधान बारे जानकारी गराउदंै उहांले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोेवारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताउनु भयो । व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहेको बताउनु भयो । कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोवार तर्फ माघ मसान्तसम्म रु.४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको जानकारी गराउनु भयो ।

नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७५।०७६ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मे.टन, डिएपी २०,००० मे. टन र पोटास २५०० मे. टन आयात भईसकेको र वाकी परिमाण यसै आ.व. को अन्त्यसम्ममा आयात भईसक्ने अध्यक्षले जानकारी गराउनु भयो ।

कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वर्कस् विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ भने कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्