बोर्ड र नेप्सेका प्रमुखको बर्खास्तीको माग, बोर्डमा लगाए लगानीकर्ताले ताला

काठमाडौं, चैत १० । बोर्ड र नेप्सेका प्रमुखको बर्खास्तीको माग गर्दै नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले ताला लगाएका छन् ।

सेयर बजार सुधार र विस्तारका लागि अर्थ मन्त्रालयले दिएको ५८ बुँदा कार्यान्वयनमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले वेवास्ता गरेको भन्दै सो संस्थाका प्रमुखमाथि लगानीकर्ताले असक्षमताको आरोप लगाउँदै बर्खास्तीको माग गरेका हुन् ।

सेयर बजार लगानीकर्ता दवाब समुहका अध्यक्ष हरि ढकाल बजार बिगार्न बोर्ड र नेप्से सक्रिय रहेको आरोप लगाएका छन् । गत मंसिर १२ गते देखि पुँजी बजारको विकास र विस्तारका लागि आफुहरुले अभियान नै चलाउँदै आएको सन्दर्भमा जिम्मेवार निकाय नै सेयर बजारलाई प्राकृतिक अवस्थामा आउँन नदिन लागि परेको भन्दै ढकालले लगानीकर्ताहरु बोर्डमा ताला लगाउँनुपर्ने अवस्थामा पुग्नुपरेको बताए ।

ढकाल भन्छन्, ‘बोर्डका अध्यक्ष डा। रेवत बहादुर कार्कीले तपाइहरुलाइ भन्न सजिलो हुन्छ कति ठाउँमा गाठो छ, काम गर्न अप्ठेर छ भन्नु भएको थियो । तर अहिले सरकारले निर्देशन दिँदा पनि काम गर्न नसक्ने अध्यक्ष किन बोर्डमा बसिरहनुपर्यो । उनीहरुले आफ्नो असक्षमतालाई स्विकार गर्दै पदबाट नहटेसम्म सेयर बजारमा सुधार हुँदैन ’।

लगानीकर्ताको समुह यसअघि पनि अर्थमन्त्री डा। युवराज खतिवडा, राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रेवत बहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका प्रमुखको राजीनामाको माग गर्दै आमरण अनसन बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्