चीनले रसुवागढी नाकाबाट नेपाली सवारी छिर्न दिएन, केरुङ जाने समस्यामा

काठमाडौं ।नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट सवारीसाधन चीन प्रवेशमा रोक लगाइएको छ।
रसुवागढी हुँदै व्यापारिक प्रयोजन तथा व्यक्तिगत कामका लागि केरुङ घुम्न जाने साना गाडी तथा मोटरसाइकलमा दुई सातादेखि रोक लगाइँदा समस्या भएको छ। अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषित रसुवागढीबाट मंसिर २४ गतेदेखि साना सवारीसाधन केरुङ छिर्न पाएका छैनन्।

चीनको केरूङबाट नेपाली साना गाडी तथा मोटरसाइकलमा अवैध सुन भित्रिन थालेपछि साना सवारी सञ्चालनमा रोक लगाइएको स्रोतको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने भने केरुङ प्रवेश गर्ने साना सवारीसाधन रोकिएकोबारे आफूलाई आधिकारिक जानकारी नआएको बताउँछन्।
प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले भने चीनतर्फको बाटो मर्मत गर्नुपर्ने भएकाले चिनियाँ पक्षले नेपाली साना सवारीसाधनमा रोक लगाएको प्रतिक्रिया दिए।

सामग्री लिन जाने तथा ल्याउने कन्टेनर सञ्चालनमा भने रोक नलगाइएको चिनियाँ पक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्