स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड आइतबार, कतिको हुने भयो हात खाली ?

काठमाडौं, ०८ चैत्र । स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार बाडँफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आइतबार शेयर बाँडफाँड गर्ने जनाएको हो ।

लघुवित्तले फागुन २६ देखि २९ गतेसम्म कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्टाएर २ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो आईपिओ शेयरमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२.२३३ गुणा बढी अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरको माग सदर भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हरेक आवेदकलाई १० कित्ता शेयरका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार कूल आवेदकको ८.४५ प्रतिशत अर्थात २५ हजार २०० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । आईपिओमा आवेदन गरेका २ लाख ७३ हजार १५३ जना अर्थात ९१.५५ प्रतिशत आवेदकको हात खाली हुनेछ ।

कास्कीमा केन्द्रीय कार्यालय रहेको स्पर्शले कूल २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्काशन गरेको हो । यसमध्ये ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारीलाई र १३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा आवेदन खुला गरेको थियो ।

आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्