जनताको जलविद्युत्ः माथिल्लो त्रिशुली–३ ‘बी’को सेयर बिक्री सुरु

काठमाडौं, चैत ७ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको प्रारम्भिक सेयर बिक्री बिहीबारदेखि सुरु भएको छ ।

नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम सुरु गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामनमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक हजार कित्ताका लागि आवेदन दिएपछि सेयर बिक्री सुरु भएको हो ।

आश्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा सी–आश्वामार्फत् पनि सेयर आवेदन गर्न सकिने ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १९ ओटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमको पहिलो आयोजनाकारूपमा त्रिशूली गंगा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना छनोट गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीकारूपमा त्रिशूली गंगा जलविद्युत् कम्पनी स्थापना गरिएको छ ।

कम्पनीको सेयरमा बिहीबारदेखि छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो ।

कुल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणसमेत सुरु भइसकेको छ ।

मन्त्रालयले ४९ प्रतिशत जनताको सेयर सुनिश्चित गर्न तथा सुरुमा १० प्रतिशत सेयर दिने लक्ष्य राखेको छ ।

कम्पनीको जारी पुँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु. १०० अंकित दरका ३७ लाख पाँच हजार साधारण सेयरमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याइ बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री सुरु भएको हो ।

आवेदकले न्यूनतम् १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

रु १०० अंकित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछिमात्रै तिर्दा हुनेछ ।

अग्रिमरूपमा लगानी गरिएको रकमकोसमेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ ।

कम्पनीका प्रबन्ध सन्चालक मोहनप्रसाद गौतमकाअनुसार सो आयोजना वि।सं। २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजना निर्माणमा रु ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार ९निर्माण अवधिको ब्याजसमेत० लाग्ने प्रक्षेपण गरिएको छ ।

त्यसमा आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०र३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तहको पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दाको १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्लाका बासिन्दाले स्थापना गरेका कम्पनीका लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत सेयर सुनिश्चित गरिएको छ ।

वि.सं. २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले वि.सं. २०७४ भदौ ६ मा विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ ।

यस्तै, लगानीकर्ता बैंक तथा वित्तीय संस्था र कम्पनीबीच गत भदौ ४ गते ऋण सम्झौता भएको थियो ।

आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँचमार्गसम्मको अधीन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न उत्पादनगृहदेखि थ्री ‘बी’ हब सबस्टेसनसम्मको तीन किमि लामो १३२ केभी प्रसारणलाइन निर्माणकार्य हाल जारी छ ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ ।

आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङ कम्पनीमार्फत् भइरहेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्