प्रहरी महानिरीक्षक खनाल किन गए थाइल्याण्ड ?
काठमाडौँ, चैत ६ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक खनाल आज दिउँसो त्यस तर्फ लागेका हुन् ।
आगामी बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापालगायत गएका छन् ।
बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतङ्कवाद, लागुऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
तीन वर्षदेखि वार्षिकरुपमा बिमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड, भुटान, भारत, बङ्गलादेश, श्रीलङ्का र म्यान्मा बिमस्टेकका सदस्य राष्ट्र हुन् ।
प्रतिक्रिया दिनुहोस्