स्वावलम्बन लघुवित्तद्वारा रुपन्देहीको सैनामैनामा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं, ५ चैत्र । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय, सालझण्डी, रुपन्देहीले सैनामैना नगरपालिका आसपास क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागितामा कार्यक्रम वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले कुनै पनि संस्थाबाट जुन उद्देश्यका साथ कर्जा लिएको हो सोही उद्देश्यमा लगाई आयमूलक काम गरी स्वरोजगार बन्नुपर्ने बताए ।

उनले दिदीबहिनीहरुलाई धेरै संस्थामा कारोबार नगर्न आग्रह गरे । कार्यक्रममा संस्थाका इलाका प्रबन्धक मेघ बहादुर खड्काले संस्थाको ऐतिहासिक पृष्ठभूमि तथा कार्यक्रमको उद्देश्य माथि प्रकास पारे । संस्थाले अभियानका रुपमा विभिन्न जिल्लामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिरहेको उनले बताए ।

शाखा कार्यालयका कार्यालय प्रमुख टायम सुवेदीले वित्तीय शिक्षाको महत्व तथा आवश्यकताका औंल्याउदै आफ्नो क्षमता तथा आम्दानीको श्रोत आंकलन गरी मात्र वित्तीय कारोबार गर्न सुझाव दिए । धेरै संस्थाबाट कर्जा लिएर दुरुपयोग गर्दा कर्जाको दलदलमा फस्न सकिने तर्फ सहभागीलाई सजग बनाउदै कर्जाको सही सदुपयोग गर्न र आयआर्जन बृद्धि गर्न उनले सुझाव दिए । कार्यक्रममा उपस्थित केही सहभागीहरुले मन्तव्य राख्दै संस्थाको कर्जा तथा बचत सुविधाले आफुहरुलाई स्वरोजगार बन्न मद्दत पुगेको बताएका थिए ।

“स्वच्छ लघुबित्त, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा इलाका कार्यालयका प्रतिनिधि, शाखा कार्यालयका प्रतिनिधि, शाखा कार्यालय अन्तरगतका विभिन्न केन्द्रका केन्द्र प्रमुख, उप प्रमुख, सदस्यहरु, अभिभावक, स्थानीय बुद्धिजीवि, जनप्रतिनिधिहरु गरी करिव ४ सय जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्