प्रविधिसँगै बढेको जोखिमप्रति राष्ट्र बैंकको चिन्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् जनशक्ति व्यवस्थापन विभागका प्रमुख डा. गोपाल भट्टले बैंकिङ प्रविधिको विकास गर्नुअघि प्रविधिले निम्त्याउने जोखिमको सामना गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन् । शनिबार मिडिया इन्टरनेशनलद्धारा आयोजित पाँच दिने बैंकिङ ट्रेनिङको समापन कार्यक्रममा डा. भट्टले यस्तो बताएका हुन् ।

प्रविधिसँगै जोखिम पनि बढ्ने भएकाले जोखिम वहन गर्नसक्ने क्षमताअनुरुपका प्रविधिहरुको विकासमा राष्ट्र बैंकले जोड दिइरहेको जानकारी उनले गराए । हालै एनआईसी एशिया बैंकमा भएको स्विफ्ट ह्याक प्रकरण, कृषि विकास बैंकको ठगी प्रकरण लगायतलाई स्मरण गर्दै उनले भने, ‘हामीले प्रविधि भित्र्याएर मात्रै हुँदैन, उक्त प्रविधिलाई दुरुपयोग हुन नदिने र जोखिम कम गर्न सक्ने क्षमता पनि सँगसँगै विकास गर्नुपर्छ । यसका लागि समय लाग्छ । त्यसैले, राष्ट्र बैंकले बैंकिङ प्रविधिको विकासलाई विस्तारै अघि बढाएको छ ।’ केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रको नियामक भएको नाताले राष्ट्र बैंकले हतारमा प्रविधि भित्र्याएर जोखिम निम्त्याउने काम गर्न नमिल्ने उनको भनाई थियो ।

कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले बैंकिङ प्रविधिको प्रयोगमा युवाहरुलाई अगाडी सानुपर्नेमा जोड दिए । स्वरोजगार कोषले प्रदान गरिरहेको व्यवसायिक तालिममा सहभागी भएर आफैँ उद्यमी बन्नेतर्फ युवाहरु जागरुक हुनुपर्ने उनको भनाई थियो ।

प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले युवाहरुलाई बैंकिङ प्रविधिको प्रयोगतर्फ आकर्षित गराउन बैंक तथा वित्तीय संस्थाहरुले जोड दिइरहेको बताइन् । बैंकिङ प्रविधिको प्रयोगबाट मुलुकलाई पूर्ण रुपमा डिजिटल कारोबारतर्फ लैजान युवा वर्गको भूमिका महत्वपूर्ण रहने उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्