नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति, आजैदेखि शेयर कारोबार रोक्का

काठमाडौं, २७ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । प्राप्ती गर्ने सम्झौतासँगै जेविल्स फाइनान्सको शेयर कारोबार आजैदेखि रोक्का भएको छ ।
जेविल्स फाइनान्सको चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। पूँजी बृद्धि भएसँगै शाखा विस्तार गर्न नसकेको जेविल्सले अन्ततः नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिने निर्णय गरेको हो।

पूँजी बृद्धिसँगै राम्रो बैंकले अफर गरेमा मर्ज हुने सञ्चालकको योजना अनुरुप नै मर्जरमा जाने निर्णय भएको संस्थाले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ती गर्ने मनासय व्यक्त गरेपछि आईतबार सम्झौता भएको हो । मूल्य भने सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकनपछि तय हुने छ । काठमाडौंको न्युरोडबाट मात्रै वित्तीय कारोबार गर्दै आएको छ ।

संस्थाले निक्षेप संकलन, ऋण लगानी, मर्चेन्ट बैंकिङ, रेमिट्यान्सको सेवा दिँदै आएको छ । संस्थाको पुस मसान्तको वित्तीय विवरण अनुसार निक्षेप संकलन एक अर्ब ७ करोड रुपैयाँ त्यस्तै ऋण लगानी एक अर्ब तीस करोड रुपैयाँ रहेको छ ।

यसै वर्ष ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याएको संस्थाको जगेडामा ७ करोड ६८ लाख रुपैयाँ छ । पुससम्मको नाफा भने ९० लाख ६८ हजार रुपैयाँ छ। दोस्रो बजारमा एक वर्षको अवधिमा अधिकतम १५६ रुपैयाँ र न्युनतम ९५ रुपैयाँसम्ममा कारोबार भएको छ ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्