नेपालको क्षमतामाथि एडिबीको प्रश्नः खर्च गर्न नसक्ने प्रवृत्ति ठिक भएन

काठमाडौं, २५ फागुन । एसियाली डेभलपमेन्ट बैंक (एडिबी)ले नेपालको विकास आयोजना कार्यान्वयन क्षमतामाथि पटक पटक प्रश्न उठाउँदै आएको छ । यसपटक पनि बैंकले आयोजना क्षमता कमजोर हुँदा पूर्वानुमानित रकम खर्च नहुने गरेको भन्दै फेरी पनि प्रश्न उठाएको छ । बैंकले यसलाई सुधार गर्न आवश्यक रहेको कुरा दोहोर्याएकका छन् ।
सम्बन्धित आयोजनाका प्रतिनिधिसँगको वार्षिक समीक्षा बैठकमा एडिबीका दक्षिण एसिया क्षेत्रीय उपमहाप्रबन्धक दिवेश शरणले नेपाललाई पूर्वाधार विकासका लागि ठूलो लगानी आवश्यक भए पनि उपलब्ध स्रोत खर्च गर्न नसक्ने प्रवृत्ति रहनु ठिक नभएको उल्लेख गरे । सन् २०१७ को तुलनामा २०१८ मा नेपालको खर्च क्षमता घटेको छ, उनले भने, ‘नेपालको खर्चको अनुपात दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कमजोर छ ।’

एसियाली विकास बैंकले गत वर्ष नेपालमा ५९ करोड २२ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । एडिबीले वार्षिकरुपमा नेपाललाई सहयोग उपलब्ध गराउन गरेको यो सबैभन्दा ठूलो प्रतिवद्धता भए पनि नेपालले एक वर्षमा २४ करोड ६७ लाख डलर मात्रै उपयोग गर्न सकेको थियो ।

एडिबीका अनुसार उसले जनाएको प्रतिवद्धताको ६१ प्रतिशत रकम नेपालले खर्च गर्न सकेको छैन । ‘नेपालले वार्षिक खर्च क्षमता बढाएर ४० करोड डलरसम्म खर्च गर्नुपर्छ,ु शरणले भने, ‘अहिले प्रतिबद्धताको ठूलो अंश खर्च हुन सकेको छैन, जसलाई राम्रो मान्न सकिँदैन।’ नेपालले प्राप्त सहायता उपयोग गर्न नसकेपनि बलियो सरकार बनेको र उसले पुँजीगत खर्च बढाउन प्रतिबद्धता जनाएकाले भविष्यमा त्यसले उपलब्धी हासिल हुन सहयोग गर्ने शरणले आशा गरे । आयोजना कार्यान्वयनमा नेपालले ठूलो उपलब्धि हासिल गर्नुपर्छ,’ उनले भने । नेपालमा संघीय संरचना कार्यान्वयनको पहिलो वर्ष भएकाले यसले पनि भविष्यमा थप उपलब्धि हासिल हुने उनको विश्वास छ ।

बैठकमा अर्थसचिव डा. राजन खनालले एडिबीको सहयोगमा सञ्चालित केही आयोजनाको प्रगति सन्तोषजनक रहेको उल्लेख गरे । उनले नेपालको पूर्वाधार विकासका लागि ठूलो लगानी आवश्यक रहेको भन्दै दातृ निकायको सहयोग परिचालन गरेरै अघि बढ्ने बताए । एडिबीका अनुसार सन् २०१८ मा उसले जनाएको प्रतिवद्धताको ६४ प्रतिशत रकम बराबरको ठेक्का लागेको छ । बाँकी ३६ प्रतिशतको ठेक्का लाग्न बाँकी छ । त्यसैगरी ठेक्का लागेको ३९ प्रतिशत रकम खर्च भएको छ भने बाँकी ६१ प्रतिशत खर्च हुन बाँकी छ ।

एडिबीले गत वर्ष ३३ करोड ८० लाख डलर खर्च गर्ने लक्ष्य राखेकोमा जम्मा २६ करोड ८० लाख मात्रै खर्च भएको जनाएको छ । उसका अनुसार थोरै बजेट भएका कृषि, सहरी पूर्वाधार तथा खानेपानी, शिक्षा र अन्य क्षेत्रमा लक्ष्यअनुसार खर्च भए पनि सबैभन्दा ठुलो हिस्सा भएका ऊर्जा र यातायात क्षेत्रको उपलब्धि कमजोर देखिएको छ।

एडिबीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको उपलब्धिलाई महत्वपूर्ण मानेको छ । ठेक्का लागेका हिसाबले तनहुँ जलविद्युत र पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्डलाई उपलब्धिमूलक मानेको छ । एडिबीका अधिकारीहरुले मेलम्चीको पछिल्लो विकासक्रमलाई दुर्भाग्यपूर्ण मानेका छन् ।
समृद्ध नेपाल र सुखी नेपालीको नारा घन्काउँदै गरेको नेपाल सरकारले विभिन्न एजेन्सि मार्फत आएको बजेट र विकास आयोजना समेत कार्यान्वयन गर्न नसकेर प्रश्न उठानु आफैंमा लजास्पद कुरो हो ।

प्रतिक्रिया दिनुहोस्