भीम रावलको चेतावनी- सरकार–सीके राउतबीचको सहमति कुनैपनि हालतमा मान्य हुँदैन ‘

काठमाडौं, फागुन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले उक्त ‘सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता त प्रदान गर्दैन ?’ भनी प्रश्न गरे ।

शुक्रबार सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सीके राउतबीच ११ बुँदे राजनीतिक सहमति भएको थियो । त्यसको भोलिपल्टै सत्तारुद्ध दलकै प्रभावशाली नेताको यस्तो प्रतिक्रिया आएको हो ।

‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ । यसमा कसैको विरोध हुँदैन । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन’–साक्षात्कारमा नेता रावलले भने ।

‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थें’–उनले भने–‘तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन । उहाँले यसअघि राष्ट्रविरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो । ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’

उनले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पस्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पस्ट नदेखिएको आरोप लगाए ।

उनले भने–‘राउतजीले नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखन्डनकारी अभिव्यक्ति दिएकाले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो । तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा ‘देशको एक इन्चपनि भूमि टुक्र्याउन पाइँदैन’ भनेर बोलेको उल्लेख गर्दै नेता रावलले भने–‘तर, हिजो स्वतन्त्र मधेस संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ रु स्वतन्त्र मधेस भनेको के हो रु यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।’

रावलले सीके राउतले आफ्नो फेसबुक पेजमा ‘जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो’ भनेर पोस्ट गरेकोपनि सुनाए ।

‘उहाँले फेसबुकमा यस्तो कुरा लेख्नुभएको छ । स्वतन्त्र मधेसका सबै मुद्दाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ । यो निकै आपत्तिजनक हो । सरकारले यसको पनि जवाफ दिनुपर्छ’–उनले भने ।

राउतसित भएको सहमति नेपालको संविधान र पार्टीको विधानविपरीत भएको उनको टिप्पणी छ ।

उनले यत्रो सहमति गर्दापनि पार्टीभित्र छलफल नभएको भन्दै आक्रोश पोखे ।

‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन रु मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरुमार्फत् आफ्नो मत प्रेषित गरेको थिएँ । हाम्रै पार्टीका साथीहरुले पनि भाषाहरु परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो । तर, सच्याइएन । पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ । एकरदुईजनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो ?’

नेता रावलले प्रधानमन्त्री ओलीले राउतलाई ‘दार्शनिक’ भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे ।

‘मलाई त गज्जब लाग्यो । राउतलाई दार्शनिक भनियो’–उनले भने–‘उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो रु म प्रश्न गर्न चाहन्छु ।’

उनले सो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापाको राजीनामाका विषयमा अब बस्ने पार्टी बैठकमा छलफल हुने जिकिरपनि गरे ।

प्रतिक्रिया दिनुहोस्