क्लिकंरसहितको सिमेन्ट उद्योगबाट परीक्षण उत्पादन सुरु

काठमाडौं, २५ फागुन । नेपालको सिमेन्ट उद्योगको एकपछि अर्काे कम्पनीले उत्पादन थपिंदै गएको छ । यसै क्रममा आरएमसी समूहको लगानीमा स्थापना भएको क्लिकंरसहितको सिमेन्ट उद्योगबाट परीक्षण उत्पादन सुरु भएको छ ।

विशेष गरि निर्माण सामाग्री उद्योगमा संलग्न यस समूहले साढे सात अर्ब लगानीमा क्लिकंर सहितको उद्योग स्थापनापछि सिमेन्ट उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको हो ।
मेशिनरी तथा उपकरण जडान कार्य शुरु भएको ८ महिनाको अवधीमा जडान सम्पन्न गरेर परीक्षण गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । क्लिन उत्पादन गर्ने मेशिनरीको शुक्रबार परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । परिक्षण उत्पादन को क्रममा आरएमसी समूहका सञ्चालक राजेश अग्रवाल, विष्णु अग्रवाल लगायतको उपस्थिति रहेको कम्पनी स्रोतले जनाएको छ ।

दैनिक १८०० मेट्रिक टन क्लिंकर उत्पादन क्षमताको ग्रिन फिल्ड प्रविधिमा आधारित क्लिंकर उत्पादन प्लान्ट स्थापना गरिएको हो । यो उद्योग नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत सिसियानीमा अवस्थित छ । आरएमसी समूह अन्तर्गत बाराको सिमरामा आरएमसी ब्राण्डमा सिमेन्ट उत्पादन गर्ने ग्राइण्डिङ उद्योग संचालनमा रहेको छ । यो उद्योगले प्रतिदिन ८ सय टन सिमेन्ट उत्पादन गरिरहेको छ ।

समूहले राजेश मेटलक्राफ्ट ब्राण्डमा जस्तापाता उत्पादन गर्दै आएको छ । पाल्पा सिमेन्ट उद्योग संचालनमा आएसँगै आरएमसी समूह अन्तर्गतको सिमेन्ट उद्योगको प्रतिदिन सिमेन्ट उत्पादन क्षमता ३ हजार मेट्रिक टन पुगेको उद्योग व्यवस्थापनले जानकारी दिएको छ । पाल्पा सिमेन्ट उद्योगबाट पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन हुनेछ । २२ बिघा क्षेत्रफल ओगटेको उद्योग परिसरमा करिब ७ अर्ब ५० हजार रुपैयाँको लगानीमा उद्योग स्थापना गरिएको कम्पनी व्यवस्थापकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्