मधेसमा पार्टी एकतापछिकै ठूलो आमसभा हुँदै, दुबै अध्यक्षले सम्बोधन गर्ने

काठमाडौं, २५ फागुन । सिके रावतसंग ११ बुँदे सहमती गरेको भोलिपल्टै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं.२ मा आज आमसभा गर्दैछ । पार्टी एकता भएपछि पहिलो पटक गर्न लागिएको यो आमसभामा लाखौं मानिसको उपस्तिथि हुने जनाईएको छ ।
त्यस आमसभाका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित विशिष्ट तथा उच्च तहका नेता तथा कार्यकार्ताहरु त्यस तर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटको गरुढामा जनसभा गर्न लागिएको सल्लाहकार रिमाले बताए ।

दिउँसो १२ बजे शुरु हुने आमसभामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेशस्तरका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको रिमालले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टीका दुवै अध्यक्ष आउने भएका कारण आमसभा स्थलमा सुरक्षाव्यवस्था कडा पारिनुका साथै आम सभाका लागि सबै तयारी पूरा भईसकेको कुरा प्रदेश दुईका इञ्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए ।

प्रदेश दुईका इञ्चार्ज मण्डलका अनुसार प्रदेश दुईका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको छ । संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको उनले बताए ।
यस कार्यक्रमले मधेशमा नयाँ सन्देश जाने पार्टीका नेताहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्