मनाङको क्याङ्दीमा हिमपहिरोमा परी एकको मृत्यु, एक वेपत्ता
काठमाडौं, २५ फागुन । विभिन्न स्थानमा पटक पटक हिमपात भईरहेको बेला फेरी मनाङको क्याङ्दीमा हिमपात भएको छ । हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।
मृत्यु हुनेमा धादिङ बसेरीका अजय ढकाल छन् भने नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम वेपत्ता भएका छन् । ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएको स्रोतलेजनाएको छ ।
मनाङको निस्याङ गाउँपालिका १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले बताए ।
मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । त्यस लगत्तै खोजी कार्य सुरु गरिएको थियो । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको थियो । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्