उद्योगीहरुको आग्रलाई गभर्नर भने, ‘नआत्तिनुस् परिणाम आउन समय लाग्छ’

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाले बैंकको व्यजदर कम गर्न उद्योगीहरुले गरेको आग्रह र सुझावहरु अत्यन्त महत्वपूर्ण रहेको बताउँदै परिणाम निस्कन समय लाग्ने बताएका छन् ।
विहीबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा ज्ञापन पत्र बुझाउन राष्ट्र बैंक पुगेका महासंघका प्रतिनिधि मण्डलको भेटमा बोल्दै गर्भनर नेपालले यस्तो कुरा बताएका हुन् ।
उद्योगीहरुले बैंकको व्याजदर बढि हुँदा व्यवसाय गर्न कठिन भएको र आफूहरु मर्कामा परेको भन्दै विभिन्न चरणमा ध्यानाकर्षण सहित संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् ।
महासंघको तर्फबाट प्रस्तुत सुझाव पत्र ग्रहण गर्दै गभर्नर नेपालले महासंघले विभिन्न समयमा दिएका साथै, भेटवार्ताका क्रममा साना तथा मझौला उद्योग व्यवसायले सहज र सुपथ ब्याजदरमा कर्जा पाउनु पर्ने विषयमा पनि छलफल भएको महासंघले जनएको छ ।

कार्यक्रममा डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघको बैकिङ समितिका सभापति शौरभ ज्योति, कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह बैध, गोपाल खनाल, चन्द्रकान्त अधिकारी, रविनकुमार श्रेष्ठ र सुनिलनारायण श्रेष्ठ सहभागी थिए ।

महासंघका प्रतिनिधिले राष्ट्र बैंकको गर्भनर समक्ष बुझाएका ५ बुंदे सुझाव यस्ता छन् ः

१. बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशत सम्म प्रिमियम थपगरी लिनपाउने व्यवस्था गरिनुपर्ने । साथै, कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गरिनु पर्ने ।

२. अनिवार्य नगद अनुपातमा बैंकहरुलाई ब्याज दिने व्यवस्था गरिएमा बैंकहरूको कस्ट अफ फण्ड घटेर वेस रेट घट्न सक्ने भएकोले यसतर्फ कदम चाल्नु पर्ने ।

३. पुनरकर्जा कोषमा ६(६ महिनामा नवीकरण गर्नुपर्ने हालको व्यवस्थाको सट्टा पाँच वर्षको अवधि बनाउनु पर्ने । पूनरकर्जाका प्रक्रिया सरल गरिनुको साथै पूनरकर्जा कोषलाई बृद्धि गरी १०० अर्ब रुपैयां बनाउनु पर्ने ।

४. नाफामुलक सस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदर भन्दा बढी नहुनेगरी ब्याजदर कायम गरिनु पर्ने ।

५. बैंकिङ सेवालाई सरल र सहज बनाउनका लागि १० लाख भन्दा कमको बचतमा केवाइसी फर्मलाई उदार गरिनु पर्ने ।

प्रतिक्रिया दिनुहोस्