अरबपति चौधरीको सम्पत्ति २० करोड बढेर १ अर्ब ७० करोड डलर पुग्यो

काठमाडौं, २३ फागुन । पटक पटक विश्वको अरबपतिको सूचिमा परेका नेपालका एक मात्र उद्योगी विनोद चौधरी अमेरिकी म्यागेजिन फोब्र्सको विश्वका अर्बपतिहरूको सूचीमा यस पटक १ हजार ३४९ औं स्थानमा उक्लिएका छन् । उनी गतवर्ष १ हजार ५६१ औं स्थानमा थिए । चौधरीको सम्पत्ति १ वर्षमा २० करोड डलर बढेको छ । फोब्र्सका अनुसार उनको सम्पत्ति १ अर्ब ७० करोड डलर पुगेको हो । सन् २०१८ मा उनको सम्पत्ति १ अर्ब ५० करोड डलर थियो । फोब्र्सले सन् २०१४ मा पहिलोपटक चौधरीलाई अर्बपति सूचीमा राखेको थियो । त्यस वर्षदेखि प्रत्यक वर्ष अर्बपतिका सूचिमा पर्दै आएको छ ।

चौधरी नेपालका एकमात्र अर्बपति हुन् । गतवर्ष पनि उनको सम्पत्ति २० करोड डलर बढेको थियो । सन् २०१७ मा उनको सम्पत्ति १ अर्ब ३१ करोड डलर थियो । उनी नेपालको व्यापारिक घराना चौधरी ग्रूपका अध्यक्ष हुन् । हाल चौधरी ग्रुपको रुपमा नेपालको हरेक क्षेत्रमा लगानी गर्दै आएको छ । चौधरी ग्रुपको हाल नबिल बैंकमा सहित अन्य, बैंकिङ, फाइनान्स, सिमेन्ट, घरजग्गा कारोबार, शिक्षा, ऊर्जा, बायोटेक, खाद्यान्न व्यापार, विद्युतीय सामग्री, बीयर फ्याक्ट्री र होटल, हस्पिटलमा चौधरी मुख्य लगानी रहेको छ । ग्रुप अन्तर्गत सीजी फुड्सको उत्पादन वाईवाई चाउचाउको फ्याक्ट्री भारत, सर्बिया, साउदी अरेबिया र बंगलादेशमा विस्तार भइसकेको छ, जुन ३५ भन्दा बढी मुलुकमा रुचाइने फास्ट फूडमा पर्छ ।

सिजीको विश्वका धेरै स्थानमा २९ वटा होटल तथा ७० वटा होटलको ब्यवस्थापन गरिरहेको छ जसअन्तर्गत भारतको ताज होटल चेन समेत रहेको फोब्र्समा उल्लेख छ ।

चौधरीका हजुरबुबा भुरामलले तयारी पोशाकको व्यापार थालेका थिए । त्यसलार्ई विनोदका बाबु लुनकरणले अगाडि बढाई निरन्तरता दिए । लुनकरणले स्थापना गरेको अरुण इम्पोरियम नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर मानिन्छ । विनोदका तीन छोरा निर्वाण, राहुल र वरुण पनि बाबुकै पथमा व्यपार व्यवसाउमा छन् ।

प्रतिक्रिया दिनुहोस्