मन्त्री अधिकारीको श्रद्धाञ्जलि पोखराको प्रदर्शनी केन्द्रमा, रामघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि

काठमाडौं, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

०६२र६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा अधिकारी पटकपटक गरी पाँच महिना जेल बसेका छन्।

०६४ सालमा निर्वा्चित भएपछि सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी आदि विषयमा विभिन्न उप(समितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए।

दोस्रोपटक संविधानसभा सदस्य भएका बेला उनले संसदको विकास समितिको नेतृत्व गरेका थिए। सो समितिबाट भएका कतिपय निर्णयहरु यद्यपि चर्चित छन्। त्यतिबेला अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल भएका थिए।

प्रतिक्रिया दिनुहोस्