सातैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिँदै, को को आउँदै छन् श्रद्धाञ्जली दिन ?

काठमाण्डौ, फागुन १७ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि काठमाण्डौको टुंडिखेलमा राखिँदैछ ।

राति अबेरमात्र पोष्टमार्टमको काम सकिएकाले अहिले ८ बजेदेखि बिहान ११ बजेसम्म मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राख्न लागिएको हो ।

श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने तय भएको छ । श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ । अरुको पनि शव परिवारलाई बुझाएपछि आफ्नै परम्परा अनुसार अन्तिम संस्कार हुने गृह मन्त्रालयले जनाएको छ ।

काठमाण्डौबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाण्डौ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्