साधना लघुवित्तले आर्थिक सम्वृद्धिलाई प्राप्ति गर्ने
गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधना लघुवित्त वित्तीय संस्था लि.ले तनहुँको डुम्रेमा रजिष्टर्ड कार्यालय भै १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति गर्ने भएको छ ।
सवल पूँजी भएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने लक्ष्यका साथ एक कार्यक्रमका बिच यस सम्बन्धी समझदारी पत्रमा साधना लघुवित्तका तर्फवाट अध्यक्ष कृष्ण वहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फवाट डा. एक नारायण चापागाँइले हस्ताक्षर गरे । प्राप्ति पछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय समेत हरमटारी ६ गोरखामा रहने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्तापूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ भने आफ्ना २० हजार जना सदस्य मार्फत् रु १३ करोड निक्षेप संकलन गरी रु ७० करोड लगानी गरी रु ५७ लाख नाफा आर्जन गरेको छ । त्यसैगरी चुक्तापूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तको १४ वटा शाखा मार्फत् आफ्ना ५ हजार जना सदस्यबाट रु ४ करोड निक्षेप संकलन गरी रु १५ करोड लगानी गरेको छ ।
नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेको सन्दर्भमा यस दुई लघुवित्तको प्रप्ति सम्बन्धी सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।















प्रतिक्रिया दिनुहोस्