ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ भर्ने म्याद लम्बियो, कहिलेसम्म सकिन्छ भर्न ?
जागरण न्युज
काठमाडौं, ७ फाल्गुण । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आइपीओ भर्ने म्याद लम्बिएको छ । मंगलबार (फाल्गुण ७ गते) सम्म आवश्यक मात्रामा आवेदन नपरेपछि म्याद थप गरी अब फागुन २७ गतेसम्म भर्न सकिनेछ ।
कम्पनीले आइपीओ भर्ने म्याद छिटोमा मंगलबारसम्म तोकेको थियो । तर सबै शेयर नबिकेपछि ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था बमोजिम म्याद लम्बिएको हो ।
हाइड्रोपावरले पहिलो चरणमा माघ २२ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि १८ लाख कित्ता आइपीओ खुला गरेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् । जसमा समूह क, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता (३०%) तथा समूह ख, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४०%) कित्ता सेयर छुट्याइएको छ ।
यस्तै, समूह ग, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु, वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता (३०%) शेयर छुट्याएको छ । यो आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
आवेदन ग्रीनलाइफको आयोजन स्थलबाटै पनि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ । सेन्चुरी कमर्सियल बैंक सिंगटी र चरीकोट शाखा तथा प्राइम बैंकको जिरी अनि बैतेश्वर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
यस्तै, कम्पनीले आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्