शिवम् सिमेन्टको आइपीओ खुल्ला, कति कित्तासम्म भर्न पाइन्छ ?
जागरण न्युज
काठमाडौं, ०६ फाल्गुन । शिवम् सिमेन्टको आइपीओ सोमबार (फागुन ६ गते) देखि खुला भएको छ । शिवमले सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्रीमा लागेको हो । आइपीओमा फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा सबै सेयर नबिकेमा चैत ५ गतेसम्म भर्न पाइनेछ । यो आइपीओमा संस्थागत लगानीकर्ताले पनि सोमबारदेखि नै आवेदन दिन सक्नेछन् ।
आईपिओमा सर्वसाधारणले प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, २ लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री खुला गरिएको हो ।
शिवमले यसअघि सर्वसाधारणलाई फेस भ्यालुमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति पाएको थियो । तर एनआइबीएल एस क्यापिटलले उक्त प्रिमियम भाउमा अन्डरराइट गर्न नमानेपछि भाउ घटाएर अहिले प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ जारी गरिएको हो ।
यता, आयोजना प्रभावित स्थानीयले पनि अब प्रतिकित्ता २०० रुपैयाँमा आइपीओ किन्न सक्नेछन । यसअघि स्थानीयलाई ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आइपीओ जारी गर्दा २ लाख २४० कित्ता मात्र बिकेको थियो ।
उक्त समयमा बाँडफाँटमा परेका स्थानीयलाई कम्पनीले हालको मूल्य बमोजिम कुल १ लाख १२० कित्ता सेयर थप गरिदिएको छ । यसरी थप गर्दा बाँकी रहने ५ लाख ७९ हजार ६४० कित्ता सेयरमा स्थानीयले प्रकिकित्ता २०० रुपैयाँको दरले पुनः थप वा नयाँ आवेदन दिन सक्ने सक्नेछन् ।
स्थानीयले पनि फागुन ६ सोमबारदेखि ९ गतेसम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतम ४४ लाख कित्तासम्म र स्थानीय बासिन्दाले न्यूनतम ५० देखि अधिकतम ५ लाख ७९ हजार ६४० कित्ताका लागि आवेदन दिन सक्नेछन ।
प्रतिक्रिया दिनुहोस्