६ लघुवित्तले आईपीओ जारी गर्न धितोपत्रमा दिए निवेदन, कुन कम्पनीको वित्तिय अवस्था कस्तो ?

काठमाडौं, ६ फागुण । एकैपटक ६ वटा लघुवित्त कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । निवेदन दिने कम्पनीहरुमा गणपति माइक्रोफाइनान्स, गुराँस लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स, जनसेवी लघुवित्त, नेपाल एग्रो लघुवित्त र इन्फिनिटी माइक्रोफाइनान्स रहेका छन् ।
ती कम्पनीले कुल २० लाख ८२ हजार ६ सय ८८ कित्ता आईपीओे जारी गर्न लागेका हुन् ।

धितोपत्र वोर्डले फागुन ३ गते स्पर्श लघुवित्तको आईपीओे स्वीकृत गरेको छ । कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपीओे जारी गर्न स्वीकृति पाएको हो ।

आईपीओे निश्कासनका लागि निवेदन दिएका कम्पनीको वित्तीय अवस्थाः

स्पर्श लघुवित् वित्तीय संस्था : धितोपत्र वोर्डले फागुन ३ गते स्पर्श लघुवित्तको आईपीओे स्वीकृत गरेको छ । कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपीओे जारी गर्न स्वीकृति पाएको हो । निष्कासन तथा विक्रीप्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले पुस मसान्तसम्ममा रू. ६ लाख २१ हजार नाफा कमाएको छ । चुक्तापूँजी रू. ५ करोड ६० लाख रहेको कम्पनीका २० ओटा शाखा कार्यालय छन् ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था: गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ३५ हजार कित्ता आईपीओे निष्कासन गर्न सेबोनमा पुस २ गते निवेदन दिएको हो । कम्पनीले चालू आवको पुस मसान्तसम्ममा रू. १ करोड ५१ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनी रू. ६८ लाख ४५ हजार नोक्सानमा थियो । चालू आवको पुस मसान्तमा कम्पनी रू. २८ लाख ७६ हजार खराब कर्जा उठाउन सफल भएकाले नाफामा सुधार आएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड छ । कम्पनीका शाखा हालसम्म २८ ओटा छन् ।

गुराँस लघुवित्त वित्तीय संस्था: गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न पुस १० गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले १० जिल्लामा २३ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । पुस मसान्तसम्ममा रू. ४० लाख ९० हजार नाफा कमाएको छ ।

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था: कम्पनीको चुक्तापूँजी रू. ५ करोड २५ लाख छ । त्यसैगरी, १० जिल्लामा कार्यक्षेत्र भएको स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपीओ जारी गर्न सेबोनमा पुस २२ गते निवेदन दिएको हो । यस कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ८२ लाख ८५ हजार नाफा कमाएको छ । कम्पनीको चुक्तापूँजी रू.४ करोड २० लाख छ ।

जनसेवी लघुवित्त वित्तीय संस्था: जनसेवी लघुवित्त वित्तीय संस्था ४ लाख ६३ हजार ३ सय कित्ता आईपीओे जारी गर्ने तयारीमा छ । धितोपत्र बोर्डमा पुस २४ गते निवेदन दिएको यो कम्पनीले गत पुस मसान्तसम्ममा रू. ५० लाख ४३ हजार नाफा कमाएको छ । चुक्तापूँजी रू. ९ करोड ८० लाख रहेको यस कम्पनीका हाल २५ ओटा शाखा कार्यालय छन् ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था: नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ लाख ६१ हजार ७ सय ७८ कित्ता आईपीओ जारी गर्न माघ २० गते निवेदन दिएको हो । कम्पनीले २६ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पुस मसान्तसम्ममा रू. ७२ लाख २० हजार नाफा कमाएको छ । गत आवमा कम्पनी नोक्सानमा थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले यस वर्ष नाफा बढेको हो ।

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था: इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता आईपीओे जारी गर्न माघ २९ गते निवेदन दिएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड २९ लाख नाफा कमाएको छ । चुक्तापूँजी रू. १४ करोड रहेको यस कम्पनीका ४२ ओटा शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्