प्रधानमन्त्रीले बैंकहरुलाई भने–उत्पादन गर्ने उद्योगलाई ब्याजले नकस्नुस्

काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुसँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले बैंकहरुलाई व्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् ।

व्यवसायीले प्रधानमन्त्रीलाई भेटेर चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या र समाधान गर्न सरकारले नै पहल गर्नुपर्ने बताएका थिए । जवाफमा प्रधानमन्त्रीले बैंकहरुलाई उत्पादनमुलक तथा रोजगारी सृजना गर्ने उद्योगहरुमा लगानी गर्न पनि भने ।

‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्’ उनले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुस् र सबैभन्दा कम ब्याज उठाउनुहोस् ।’

प्रधानमन्त्री ओलीले बिलासिताका वस्तुहरुमा कम लगानी गर्न र त्यसमा बढी ब्याज लिए फरक नपर्ने सुझाब दिए । उनले व्यावसायीको गुनासोबारे बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन समेत दिए ।

‘बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउँदै लैजाने उपयुक्त हुँदैन । यसमा सरकारले नियमन गर्छ’ उनले भनेका छन् । उनले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्न खुला प्रतिष्पर्धाको वातावरण बनाउँछ, समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्