शिवम् सिमेन्टको आइपीओ सोमबारदेखि खुल्दै, प्रतिकित्ता ३०० रुपैयाँमा भर्न सकिने
काठमाडौँ, फागुन ५ । शिवम् सिमेन्टले सोमबार(फागुन ६ गते) देखि ९ गतेसम्म सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री गर्दैछ । सर्वसाधारणले प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।
यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री गर्न लागिएको हो ।
शिवमले यसअघि सर्वसाधारणलाई फेस भ्यालुमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति पाएको थियो । तर एनआइबीएल एस क्यापिटलले उक्त प्रिमियम भाउमा अन्डरराइट गर्न नमानेपछि भाउ घटाएर अहिले प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ जारी गर्न लागेको हो ।
यता, आयोजना प्रभावित स्थानीयले पनि अब प्रतिकित्ता २०० रुपैयाँमा आइपीओ किन्न सक्ने कम्पनीले जनाएको छ । यसअघि स्थानीयलाई ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आइपीओ जारी गर्दा २ लाख २४० कित्ता मात्र बिकेको थियो ।
उक्त समयमा बाँडफाँटमा परेका स्थानीयलाई कम्पनीले हालको मूल्य बमोजिम कुल १ लाख १२० कित्ता सेयर थप गरिदिने भएको छ ।
यसरी थप गर्दा बाँकी रहने ५ लाख ७९ हजार ६४० कित्ता सेयरमा स्थानीयले प्रकिकित्ता २०० रुपैयाँको दरले पुनः थप वा नयाँ आवेदन दिन सक्ने सक्नेछन् । स्थानीयले पनि फागुन ६ देखि ९ गतेसम्म आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४४ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । सी–आस्वाबाट आवेदन दिन पाइनेछ । तोकिएको समयमा सबै सेयर नबिकेमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।















प्रतिक्रिया दिनुहोस्