युनिभर्सल पावर कम्पनीको आईपिओ भर्ने म्याद कहिलेसम्म ?

जागरण न्युज
काठमाडौं, फागुन ३ । युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणको लागि ८६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको मध्ये फागुन ३ गते शुक्रबार बिहानसम्म ८४ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार फागुन ३ गते शुक्रबार बिहान १० बजेसम्ममा ९६ हजार ४२७ जना आवेदकहरुबाट ८४ लाख ५८ हजार १८० कित्ता शेयरको माग भएको छ ।

यस हिसाबले कम्पनीको शेयर अब २ लाख १६ हजार ३१२ कित्ता अर्थात २ करोड १६ लाख रुपैयाँ बराबरको बिक्री हुन बाँकी रहेको छ । बिक्री प्रबन्धकले बाँकी शेयर शुक्रबार बिक्री भए शुक्रबार र आइतबार सम्म सबै शेयर बिक्री नभए सोमबार मात्र शेयर निष्काशन बन्द हुने देखिन्छ ।

कम्पनीको आईपिओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि–आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

युनिभर्सलको आईपिओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग दिएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझिन्छ ।

युनिभर्सल पावरले माघ २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुबाट अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्ष २०७६/७७ मामा १९ करोड ५३ लाख र आव २०७७/७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्