२ करोड ५० लाख रुपैयाँ धरौटी निगमको पूर्व कार्यकारी खड्का छुटे
काठमाडौं, २९ माघ। भ्रष्टाचार आरोपमा पक्राउ परेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएपश्चा खड्का सो रकम बुझाएर निस्केका हुन् ।
खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका छन् ।
अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
त्यसपछि विशेष अदालतले उनलाई हाजिर हुन आउन म्याद पठाएको थियो । विशेषले म्याद पठाएको ३० औं दिनमा खड्का हाजिर हुन आएका थिए ।
प्रतिक्रिया दिनुहोस्