सूर्योदय लघुवित्तले किन बोलायो फेरि विशेष साधारण सभा ?

जागरण न्युज
काठमाडौं, २७ माघ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले फेरी विशेष साधारण सभा बोलाएको छ । वित्तीय संस्थाले सभा फागुन ११ गते पुतलीबजार नगरपालिका वार्ड नं.१ स्याङजास्थित जिल्ला समन्वय समितिको सभा हलमा डाकेको छ ।

कम्पनीको कार्य क्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव राखेर सभा बोलाइएको हो ।
हाल सूर्योदयको कार्य क्षेत्र २३ जिल्लामा छ । अब राष्ट्रियस्तरको कम्पनी बनाउन लागिएको हो । यो प्रस्तावलाई विशेष साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

यसैगरी, कम्पनी मर्जमा जान तथा एक्वायर हुन पनि तयार देखिएको छ । मर्ज तथा एक्वायरका लागि सञ्चालक समितिलाई सबै काम गर्न सबै अधिकार दिइने प्रस्ताव समेत गरिनेछ ।
साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने एजेन्डा पनि विशेष साधारण सभाबाट अनुमोदन गराइनेछ । कम्पनीले यसअघि गत पुस ७ गते वार्षिक साधारण सभा बोलाएको थियो ।
गत पुस ७ गते वार्षिक साधारण सभाले लगानीकर्तालाई ४२.७५ प्रतिशत बोनस शेयर र कर तिर्न २.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । साथै, बोनस शेयरपछि कायम पुँजीको ५० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पनि अनुमोदन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्