पाँचथर पावरको आइपीओ भर्ने म्याद माघ २९ गते सकिदै

जागरण न्युज
काठमाडौं, २५ माघ । पाँचथर पावर कम्पनीको आइपीओ भर्न अब पाँच दिन अर्थात (माघ २९ गते) मात्र समय बाँकी छ ।
कम्पनीले स्थानीयलाई खुला गरिएको यो आइपीओ निर्धारित समयमा बिक्री नभएपछि १ साता समय थप गरिएको हो । थपिएको समय पनि अब २९ गते सकिदैछ ।

पाँचथर पावरले आयोजना प्रभावितका लागि आइपीओ खुला गरेको हो । यसअघि सोमबार (माघ १४ गते) सम्म भर्न पाउने भनिएकामा सबै बिक्री नभएपछि १ साता समय थपेर माघ २९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित पाँचथरका सीमित क्षेत्रका जनताका लागि पुस ३० गतेदेखि आइपीओ खुला गरेको हो । कुल ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ खुला गरिएको छ । यसमा पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।

यस आइपीओमा बिक्री प्रबन्धको काम सानिमा क्यापिटलले गरेको छ । आइपीओमा स्थानीयले पाँचथरको फिदिममा रहेका कृषि विकास बैंक, सन्चुरी बैंक र गुडविल फाइनान्सका शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, आयोजनाको कार्यालय फिदिम–१० याङनामबाट पनि आइपीओ भर्न सकिनेछ ।

पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको लगानी फिर्ता हुन करिब ९ वर्ष लाग्ने अनुमान गरिएको छ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३% रहने प्रक्षेपण गरेको छ ।

यस्तै, प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा ३.२९ रुपैयाँ, आगामी आर्थिक वर्षमा १६.५८ रुपैयाँ र आव २०७७.७८ मा १९.३८ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । कम्पनीले चालु आवमा ३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाउने अनुमान गरेको छ । यस्तै, आगामी आवमा १५ करोड ९५ लाख र आव २०७७.७८ मा १८ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाउने लक्ष लिएको छ ।

पाँचथर पावरले जारी पुँजीको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । स्थानीयलाई बिक्री गरिसकेपछि फेरि १०% नै सेयर सर्वसाधारणलाई जारी हुनेछ । यसमा संस्थापक सेयरधनीहरुको लगानी ७७ करोड रुपैयाँ रहेको छ । पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको ’हेवा खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्