वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी, २ अग्नि नियन्त्रकको मृत्यु

काठमाडौं। वीरगञ्ज महानगरपालिकाको पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।

आगलागीमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।

ग्यास उद्योग नजिक रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

उद्योगमा ग्यास लिक भएर बुधबार बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी दुई जना अग्नि नियन्त्रकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन ।

आगलागी हुँदा उद्योगभित्र कति मानिस थिए भन्ने एकिन भएको छैन ।

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा त्यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् ।

ग्यास सिलिण्डरहरु र ग्यास प्लान्ट पड्किरहेकाले अग्नि नियन्त्रकहरु नजिक जान सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरीहरु पनि करिब पाँच सय मिटर परै रोकिएका छन् । स्थानीयबासीलाई पनि नजिक जान दिइएको छैन ।

ग्यास लिक भएको खबर पाउनासाथ दमकल उद्योगमा पुगेको र पानी फाल्न मेशिन स्टार्ट गर्नासाथ आगो लागेको प्रहरी हबल्दार ब्रहृमनारायण जैसवालले बताए ।

आगलागी फैलने जोखिम बढेपछि ग्यास उद्योगभन्दा करिब ५ सय मिटर टाढा रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । वरपर रहेका अन्य उद्योगहरुमा पनि सतर्कता अपनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्