यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियामा क्षेप्यास्त्र प्रहार

काठमाडौं। यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादलाई लक्षित गर्दै प्रहार गरेको एक क्षेप्यास्त्र साउदी नेतृत्वको सैन्य गठबन्धनले रोकेको छ ।
हुथीले सञ्चालन गरेको अल मासिराह टेलिभिजनले विद्रोहीहरुले बुर्कान–टू नामक क्षेप्यास्त्र रियादस्थित अल–यामामा दरबारतर्फ लक्षित गरी प्रहार गरेको जनाएको छ ।

अल–यामामा दरबारमा बसिरहेको भनिएको उच्चपदस्थ साउदी नेताहरुको बैठकलाई लक्षित गर्दै सो क्षेप्यास्त्र प्रहार गरिएको उसले जनाएको छ । सो दरबार साउदी राजाको मुख्यालय हो ।

हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रलाई साउदी नेतृत्वको सैन्य गठबन्धनले रोकेको भए पनि रियादमा विस्फोट भएका आवाजहरु सुनिएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरुले सामाजिक सञ्जालहरुमा धूँवा उडिरहेका तस्बीर राखेका छन् । यमन सरकारलाई समर्थन गर्दै साउदी नेतृत्वको सैन्य गठबन्धन हुथी विद्रोहीहरु विरुद्ध लडाई लडिरहेका छ । हुथीहरुलाई इरानले समर्थन गर्दै आएको छ ।

इरानले हुथी विद्रोहीहरुलाई क्षेप्यास्त्र उपलब्ध गराएको आरोप साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाले लगाउँदै आएका छन् । तर इरानले भने हुथी विद्रोहीलाई हातहतियार नदिएको जिकिर गर्दै आएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्