नयाँदिल्लीमा मानवाधिकारका साझा चासोका विषयमा छलफल

काठमाडौँ, २१ माघ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको प्रतिनिधिमण्डलले भारतको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एचएल दत्तसँग आज नयाँदिल्लीमा भेटेर मानवाधिकारका साझा चासोका विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा नेपाल र भारतका आयोगबीच अनुभव आदानप्रदान, महिला हिंसा, मानव बेचबिखन, गैरन्यायिक हत्या, आप्रवासी कामदार, मानवाधिकारको संरक्षणमा निजी क्षेत्रको भूमिकालगायत पारस्परिक चासोका विषयमा संयुक्तरुपमा सहकार्य गर्नेबारेमा विचारविमर्श भएको आयोगका सचिव वेद भट्टराईले नयाँदिल्लीबाट राससलाई टेलिफोनमार्फत जानकारी दिनुभयो ।

मानव अधिकार आयोग नेपालको अनुरोधमा केही वर्षअघि भारतीय भूमिका मारिएका रौतहटका मुकुल राय यादवको घटना अनुसन्धान गरी भारत सरकारबाट पीडितका परिवारलाई उपलब्ध गराइएको क्षतिपूर्तिको रकम तथा भारतको राजस्थानमा बम विस्फोटनमा परी मारिएका दुई जना नेपाली कामदारको सम्बन्धमा पनि भारतीय आयोगले गरेको अनुसन्धान तथा सिफारिशप्रति राष्ट्रिय मानव अधिकार आयोगले कृतज्ञता व्यक्त गरेको सचिव भट्टराईले बताउनुभयो ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगको एशिया–प्रशान्त क्षेत्रका सचिवको बैठक हालै कतारको राजधानी दोहामा सम्पन्न भयो । आयोगका सचिव भट्टराई भाग लिनुएको उक्त बैठकमा मानवाधिकार संरक्षणमा निजी क्षेत्र तथा उद्योग व्यवसायीको भूमिका पनि सरकारको जत्तिकै महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

उहाँका अनुसार बैठकमा बालबालिका माथि हुने शारीरिक पीडा, बालश्रम शोषण, आदिवासी जनजातिको अधिकार संरक्षण, यौन हिंसा नियन्त्रण, समान कामका लागि समान ज्याला, मजदूर किसानको हक अधिकारको रक्षा, स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने हकको सुनिश्चितता गर्न पनि निजी क्षेत्रका उद्यमी व्यवसायीलाई नेपाललाई आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्