बंगलादेशमा नेपालीमूलका बीरबहादुर बने मन्त्री

 काठमाडौं, माघ १९ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूताबासबाट विदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना बाजेदसँग बिदाइ भेटका लागि ढाकास्थितथ गणभवन पुगे ।
भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री बाजेदले रहस्य खोलिन–‘चिन्ता मान्नु पर्दैन, नेपालीमुलका बीरबहादुरलाई मैले क्याविनेट मन्त्री नै बनाएको छु ।’
प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले कान्तिपुरसँग फोनमा भने, ‘बंगलादेशमा नेपाली मूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपाली मूलका मन्त्री नै छन भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’
नेपाली मूलका बीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री नै छन् । गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्री मण्डल गठन भएको हो ।
बीरबहादुरलाई चितागोङ(चटगाव) हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको छ । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्