अन्तत: चौतर्फी दबाबपछि डा. केसीले तोडे अनसन, फरक रुपमा लड्ने प्रतिवद्धता

काठमाडौ, १८ माघ । डा.गोविन्द केसीले २४ औ दिनमा लामो आमरण अनसन स्थगित गरेका छन् । उनी अनसन तोडे पनि सत्याग्रह जारी रहन जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको केसिले बताएका छन् ।
डा। केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् ।

अनसन तोड्दै गर्दा डा। केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् । साथै विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको भन्दै उनले भनेका छन्, ‘यसरी पारित भएको ऐन हामीलाई स्वीकार्य छैन ।’

यस अघि डा। गोबिन्द केसीलाई पूर्वराष्ट्रपति डा। रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र नागरिक अगुवाहरु लगायतले अनसन तोड्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्