डा.गोविन्द केसीलाई अनसन तोड्न दबाब

काठमाडौं, ८ माघ । चिकित्सा शिक्षा विधेयकलाई लिएर २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न चौतर्फी दबाब आएको छ ।

डा. गोबिन्द केसीलाई पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र नागरिक अगुवाहरु लगायतले अनसन तोड्न आग्रह गरेका हुन् ।

बिहीबार डा. केसीलाई भेट्न अनसनस्थलमा पुगेका काँग्रेस सभापति देउवाले अनसन तोडेर फरक हिसाबले लड्न केसीलाई आग्रह गरेका थिए । त्यस्तै शुक्रबार केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवले पनि अनसन तोड्न आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश काकीर्, पूर्वसभामुख दमननाथ ढुंगाना लगायत नागरिक अगुवाहरुले पनि शुक्रबार बक्तव्य जारी गरेर अनसन तोड्न केसीलाई आग्रह गरेका थिए । उनीहरुले कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । ‘आमरण अनसन अन्त्य गरी यहाँले जारी राख्ने सत्याग्रहको अन्य स्वरुपमा हाम्रो ऐक्यवद्धता रहने जानकारी गराउँछौं’ अपीलमा भनिएको छ ।

चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमा लगायतका पदाधिकारीले पनि केसीलाई अनसन तोड्न आग्रह गरेका छन् । माथेमासहित प्रा.डा. मदन उपाध्याय, प्रा.डा.रमेशकान्त अधिकारी, प्रा.डा.अर्जुन कार्की र प्रा.डा.भगवान कोइरालाद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले सत्याग्रहमा पुनर्विचार गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्